मोरङको कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन्।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।