ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ। आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले त्यसलाई उडाएका थिए।

दुर्घटनामा उनी, उनकी श्रीमती, तीन छोरी र परिवारका अरू सदस्यको मृत्यु भएको छ। उनको कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिइएको हो।

विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ। दुर्घटनामा उक्त क्षेत्रका भवनमा पनि क्षति पुगेको छ।

दुर्घटनामा १७ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक छ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार, ६१ वर्षीय व्यापारी ग्यालेजी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै गर्दा प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको हो।