बाबु साहेब बलामी निर्देशित फिल्म ‘देव वाणी’को टिम प्रचारमा होमिएको छ। पुस १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आएका अभिनेता कुन्दन भारद्वाजलाई समेत निर्माण युनिटले प्रचारमा व्यस्त बनाएको हो।
पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्वाजले आफूलाई नेपाल मन पर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दै छु।’ कुराकानीको क्रममा अभिनेता भारद्वाजले भोजपुरी फिल्म छायाङ्कनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताएका छन्।
अभिनेता भारद्वाजले फिल्म प्रचारको अलवा काठमाडौँ र आसपासका ठाउँमा भ्रमण गर्ने समय समेत निकाल्ने बताएका छन्। फिल्म ‘देव वाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने अपेक्षा राखे। अभिनेत्री अनुजा लेप्चाले फिल्म 'देव बाणी' नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव नभएको बताइन्। फिल्ममा नेपालका अलवा भारतीय कलाकार र प्राविधिकको कामका साथै एक्सन र रोमान्सले दर्शकको मन जित्ने अभिनेत्री लेप्चाको आशा छ।
केही दिन अघि फिल्म सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरवमा पूजा समेत गरेका थिए। काल भैरवलाई कालो धजा चढाइएको थियो भने १०८ वटा दीप प्रज्वलन गरिएको थियो। फिल्ममा अभिनेता भारद्वाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ। फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहेको छ ।
एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्क्रिन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौँमा छायाङ्कन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।
हरिबहादुर घलेको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुत कर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुङ्गेल झापाली हुन्। फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।
मुभी पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको सङ्गीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ। सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्वाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिसन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।