बाजुरामा शनिबार बिहान गएको भूकम्पमा परी करिब १५ घर पूर्ण क्षति भएको छ। करिब १५० घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

सबैभन्दा बढी क्षति भूकम्पको केन्द्रविन्दु रहेको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोलमा भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।

“१५/२० घर पूर्ण क्षति (भत्किएको) र १५० भन्दा बढी घर आंशिक रूपमा चर्किएका, सामान्य क्षति छ भन्ने विवरण आएको छ,” उनले बाह्रखरीसित भने, “पूर्ण क्षति भएका १५/२० घरमा मान्छे बस्नै नमिल्ने छ।” मानवीय क्षति नभएको उनले जानकारी दिए।

पूर्ण र आंशिक क्षति भएका घरको यकिन संख्या ठ्याक्कै भन्न सकिने अवस्था तत्काल नरहेको उनले बताए। उक्त क्षेत्र दुर्गममा रहेको र सबै ठाउँको स्थलगत अध्ययनको विवरण प्राप्त भइनसकेको उनको भनाइ छ।

वडा, पालिका, प्रहरी प्रशासनलगायत निकाय उद्धार कार्यमा खटिएका र भूकम्पपछिको आवश्यक कार्य भइरहेको छ।

आंशिक क्षति भएकै कतिपय घरमा मानिस बसेका छन्। पूर्ण क्षति भएका घरका परिवारका सदस्य भने कोही खुला जमिनमा, आफन्त, आफ्नै अर्को घर वा गोठमा बसेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुरा प्रहरीले पनि पूर्ण क्षति भएका घरको संख्या १२/१४ हुन सक्ने जनाएको छ। भूकम्प प्रभावित सबै क्षेत्रमा प्रहरी पुगिसकेको छैन। सबै क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेपछि यकिन विवरण भन्न सकिने प्रहरीले जनाएको छ।

शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।