२०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए।
अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे।   
सो क्रममा पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने कामको सङ्ख्या २७४ वटामध्ये १८५ कामहरू सम्पन्न भएको सुनाए। त्यस क्रममा उनले सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको पनि बताए। सुशासन र भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताएका थिए।
प्रधानमन्त्री ओलीले सय दिनका उपलब्धि सार्वजनिक गरेको दुई महिना पूरा भइसकेको छ। तर उनले गरेका कामहरु व्यवहारिक रुपमा कति फलदायी रहे भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको छ। यस पटक हामीले ओलीका हप्ता दिनका गतिविधिबारे फेहरिस्त राख्ने प्रयास गरेका छौँ। 
बितेको एक हप्ता भरी मुख्य मुख्य घटनाक्रमसहित प्रधानमन्त्रीले के कस्ता कामहरूमा समय बिताए भन्नेबारे समीक्षा गर्नुपर्ने आवाज उठिरहेको छ। उनले सय दिनको फेहरिस्त सुनाउँदै भनेका थिए, ‘आज हामीले सत्ता सम्हालेको एक सय दिन पूरा भएको छ। तर म यहाँ तपाईंहरूलाई तथ्याङ्कको लामो सूची सुनाउँदै छैन। किनकि अङ्कहरू आफैँमा के हुन् र ? वास्तवमै महत्त्वपूर्ण कुरा भनेको ती अङ्कहरूले छोएका जीवन, हल्का बनाएका पीडा र देखाएका सुन्दर भविष्य हुन्।’ 
यति मात्र होइन, प्रधानमन्त्री ओलीले त सत्ता गठबन्धन बनाउँदा नै देशमा सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने ‘एजेन्डा’ सहित दुई ठुला दल कांग्रेस र एमाले मिलेको दाबी गरेका थिए। 
ओलीले हरेक पटक भाषण गर्न मञ्चमा उभिएर भन्ने वाक्य हो– ‘सरकार ढल्दैन, सहमतिअनुसार शेरबहादुरज्यूलाई हस्तान्तरण गर्छु।’ ओली भाषण प्रेमी भएकाले दिनदिनै उद्घाटन र भाषणमा व्यस्त हुने गरेका छन्। संविधान संशोधन मूल एजेण्डामाथि भने छलफल हुनै छाडेको छ। 
३० मङ्सिरमा उनले ज्यापू समाजको कार्यक्रमलाई सम्बोधन गरे। सोही दिन ओलीले एमालेको सङ्गठन विभागद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरे। उक्त कार्यक्रममा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिए।
ओलीले भनेका थिए,‘पूर्व राष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनु पयो भन्ने कुराको कुनै तुक छैन। उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यक पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ। भेटेर गल लगाइरहनु पर्दैन।’
२९ मङ्सिरमा ओलीले काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरे। सम्बोधनमा ओलीले शिक्षा प्रमाणपत्र मात्र दिने खालको होइन, सिर्जना गर्ने खालको हुनुपर्छ भन्दै आत्मनिर्भर र रोजगारी दिने शिक्षा हुनुपर्ने बताए। 
२८ मङ्सिरमा प्रधानमन्त्री ओलीले बुढानीलकण्ठ नगरपालिका १, २ र ७ वडाको प्रशासनिक भवन उद्घाटन गरे। त्यही दिन कपनमा ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानको उद्घाटन गरे । २८ मङ्सिरमा नै ओलीले नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको कार्यक्रमलाई सम्बोधन गरे। सोही दिन प्रधानमन्त्री ओलीले नवौँ नान हाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गरे। 
२७ मङ्सिरमा अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धित विवाद समाधान सम्मेलनको उद्घाटन गरे। २७ मङ्सिर मै त्रिभुवन विश्वविद्यालयको साधारणसभालाई सम्बोधन गरे। 
प्रधानमन्त्री ओली २६ मङ्सिरमा तेह्रथुम पुगेर आफूले अध्ययन गरेको प्रणामी माविको विद्यालयको नयाँ भवनको उद्घाटन गरे। दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउन्डेसनले भवन बनाइदिएको हो। उक्त विद्यालयमा गत वर्षको एसइईमा राम्रो नतिजा नआएको सुनेर आफूमा खिन्नता आएको पनि ओलीले बताए।
तर, ओली खिन्नता प्रकट गर्ने ठाउँमा होइन, नतिजा नराम्रो आउनुको कारण खोज्ने र समाधान गर्ने ठाउँमा पटक पटक पुगिसकेका छन्। अहिले पनि देशको कार्यकारी छन्। तर, उनी आफू पढेको स्कुलको नतिजा राम्रो नआएकाले मन खिन्न भएको भाषण गरेर फर्केका छन्।  
२४ मङ्सिरमा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापामा विभिन्न कार्यक्रमलाई सम्बोधन गरे। झापाको बेलडाँगीमा खानेपानीको उद्घाटन गरे। महारानी झोडामा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरे। झापाको गौरादहमा ताजपुरिया समाज कल्याण परिषद्को स्थापना दिवसमा सहभागी भएर सम्बोधन गरे। त्यही दिन एमालेको जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरे। 
२४ मङ्सिरमा नै सबैभन्दा बढी चर्चामा रहेको दमकको व्यापारिक कम्प्लेक्सको उद्घाटन गरे। 
२३ मङ्सिरमा प्रधानमन्त्रीले झापाको मानव सेवा आश्रम भवनको उद्घाटन गरे। 
१४ मङ्सिरमा लुम्बिनी पुगेर प्रधानमन्त्री ओलीले लुम्बिनी विश्वविद्यालयको तेस्रो दीक्षान्त तथा २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेका थिए। 
१२ मङ्सिरमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन गरे। 
११ मङ्सिरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रम उद्घाटन गरे। 
ओलीले गर्ने उद्घाटन र भाषणको सिलसिला निरन्तर जारी छ। उनलाई उद्घाटन र भाषणले व्यस्त गराएको छ। जबकि अर्थतन्त्रले लय समात्न नसकेको सरकारका मन्त्रीहरू नै स्वीकार गर्छन् । 
यसैगरी प्रधानमन्त्री ओलीले २ पुसमा ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा प्रमुख अतिथि बने। उनले त्यहाँ ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड वा  तनाव नलिई सेवा भाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
३ पुसमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवस समारोहमा ओली सहभागी भए। उक्त कार्यक्रममा ओलीले राजनीतिक टिप्पणी बढी गरे। राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको प्रधानमन्त्रीले दाबी गरे। 
अघिल्लो सरकारतर्फ लक्षित गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस–कसका के–के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको उनले दोहोयाए।