नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन्। सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले सम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन्।
सम्बोधन गर्दै उनले भने,‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। न्याय हुन्छ। त्यसको जिम्मा आफूले लिन्छु। म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु। विगतमा तपाईंहरुमाथि अन्याय भएको छ उचित अवसर पाउनु भएको छैन। तपाईँहरूको पीडा म बुझ्छु। अब १५ औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिन। तर यसका लागि तपाईँहरूको सहयोग चाहिन्छ। ’
कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताए। उनले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए।
उनले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको दाबी गरे। उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन। म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट छैन। ’