काठमाडौँ महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ। 
महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन। 
भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए । उक्त विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जोकसैलाई कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन्। 

प्रेस विज्ञप्ति
काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि.नः १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौँ महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१/११/२० मा का.म.पा को कार्यपालिका बैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच दुई पक्षीय सम्झौता भएको यहाँहरुलाई अवगत नै छ।
सोही कार्यको लागि मिति २०७२/४/२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरी २०७२/५/६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षीय सम्झौता समेत भएको देखिएको थियो। साथै मिति २०७४ वैशाख ८ गते दुवै पक्षबिच मिति २०७३ वैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ। सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राविधिक जाँच पश्चात् प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी डवल basement प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनी वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिवेदनमा पेस भएको छ। 
श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FAR मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हाल कायम रहेको दस्तुर लिई सुपर स्ट्रेचर नक्सा पास गर्न सकिने व्यवस्था छ। सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रेचर नलिई निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडी बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS मार्फत नक्सा पास प्रक्रिया अगाडि बढाइएको थियो। सोही प्रक्रियामा १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिन्छ। सो नक्सा मिति २०७४ वैशाख ८ गते दुवै पक्षबिच भएको सम्झौता विपरीत भएकाले नक्सा संशोधन प्रक्रिया रोकिएको थियो। कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS बमोजिम मिति २०८०/११/२२ देखि प्राविधिक कारणले रोकिएको प्रक्रिया विद्युतीय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ। साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड इन्जिनियर सुशील केसीलाई, सुशील केसीले निर्मल कुमार भट्टराईलाई र निर्मल कुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ। २०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मल कुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ। मिति २०८१/६/२० मा निर्मल कुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणालीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ। उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन। तर भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ। यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानुन बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ। 
धन्यवाद
नवीन मानन्धर
प्रवक्ता
काठमाडौँ महानगरपालिका
मिति २०८१/९/५