पूर्व उपराष्ट्रपति परमानन्द झाले पत्रकारहरुको कलममा देश बनाउने र बिगार्ने क्षमता भएको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित न्यूज लाइन्स् मिडिया प्रा.लीको नवौँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘तपाईँको कलममा देश बनाउने र बिगार्ने क्षमता पनि छ। तरबारभन्दा कलमको महत्त्व बढी छ। त्यसैले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्छ। मिडियाको अधिकार, मिडियाले देश र समाजलाई दिनुपर्ने देन यही हो। थोरै लेखौँ, सत्य लेखौँ र देशलाई राम्रो हुने कुरा लेखौँ।’
यस्तै, उनले मिडियाको अर्थ भनेको सत्य कुरा लेख्नु भएको भन्दै पत्रकारको कलममा निष्पक्षता रहेन भने मिडियाको काम प्रभावकारी नहुने बताए।
उनले भने, ‘मिडियाको अर्थ मैले जानेसम्म साँचो कुरा लेख्ने हो। त्यसैले साँचो कुरालाई लेख्ने काम गर्नुपर्छ गरेन भने त्यो मिडिया दूषित मिडिया भन्न सकिन्छ, सरकार चलाउनको लागि तीन वटा संस्था हुन्छ तर चौथो सरकारी अङ्गको रुपमा मिडियालाई पनि लिइन्छ। त्यसैले पत्रकारहरुले झुटो कुरा लेख्नुभयो, निष्पक्षता तपाईँको कलममा रहेन भने मिडियाको काम प्रभावकारी हुँदैन।’