सभामुख देवराज घिमिरेले विचार र बुझाइको अभाव हुनेहरुले सङ्घीयता चाहिँदैन भन्ने टिप्पणी गरिरहेको बताएका छन्। 
शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले सङ्घीयता कार्यान्वयनमा भएका योगदानहरुको बारेमा समीक्षा गर्नको साटो सङ्घीयता नै चाहिँदैन भन्ने खालका गलत टिप्पणीहरु भइराखेको बताए। 
उनले भने, ‘आज सङ्घीयता चाहिँदैन भन्ने खालको टिप्प्णीहरु भइराखेको छ। मेरो व्यक्तिगत रुपमा के बुझाई छ भने, सङ्घीयलाई कार्यान्वयन गर्न हामीले गर्नुपर्ने कामहरु कति गर्‍यौँ ,सङ्घीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने, कानुन बनाउनेदेखि कार्यान्वयन गराउने कामहरु कति गर्‍यौँ। काम गर्दा के अनुभव लिऔँ यो पाटोमा सबैको ध्यान जानु पर्ने गएन। खालि सङ्घीयता व्यवहारिक भएन यसको दुरुपयोग बढी भयो भन्ने जस्ता कुरा भएको छ। यसमा म विल्कुल फरक मत राख्छु। यो कुरा विचार र बुझाइको अभावमा आइरहेका छन्।’
उनले तुलनात्मक रुपमा अलि बढी महत्त्व भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन संसदमा जति मात्रामा छलफल हुनु पर्ने हो त्यो भन्दा ज्यादै न्यून रहेको गुनासो गरे। 
उनले भने, ‘यो आयोगको तुलनात्मक रुपमा आफ्नै महत्त्व छ। आयोगका प्रतिवेदनहरु संसदमा छलफल गर्ने बहस गर्ने त्यसलाई सुधार्ने र त्यसका कार्य क्षेत्र अधिकार क्षेत्र मिलाउने, कानुन बनाउने, बनेका कानुनहरुको परिमार्जन गर्ने तमाम कामको जिम्मा लिएको संसदमा जुन मात्रामा यसका प्रतिवदेनहरुको छलफलहरु हुनु पर्ने हो। त्यो नभइरहेको स्थिति छ। त्यसलाई परिमार्जन गर्न जरुरी छ। त्यसको लागि आयोग आफैले पनि प्रयत्न गरिराखेको छ।’