नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाडो भएको बताएक छन्। 
धादिङ जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यमिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एवं चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
’मैले शिक्षाको सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाए, त्यति मात्रै होइन राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरुमा भिसी, रेक्टर, रजिस्टार, डिनहरु नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पुरै खस्कियो। विद्यार्थीहरु देश छोडेर विदेश पलायन भए। विश्वविद्यालयहरुमा तालाबन्दी, नाराबाजी, अराजकताको स्थिति आइरह्यो। त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसिका आधारमा  भिसी, रेक्टर, रजिस्टार र डिनहरु नियुक्त गर्ने प्रक्रिया अगाडि बढाए। अहिलेको सरकारलाई त्यो घाडो भएको छ ,’उनले भने।
शिक्षामा भागबन्डा गरेर विश्वविद्यालयहरूमा भिसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विद्यार्थी पलायन हुने स्थित भएको बताउँदै उक्त कुरा रोक्न आफूले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहललाई अहिले उल्टाउने खेल भइराखेको उनले बताए।
सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको बताउँदै उनले थपे– ’विश्वविद्यालयमा मैले सुरुवात गरेको मेरिटोक्रेसिले राम्रो असर र प्रभाव देखाउन थाल्यो तर अहिलेको सरकारलाई राम्रो चाहिएको छैन। आफ्नो चाहिएको छ। अहिले विश्वविद्यालयका भिसीहरूलाई मेरिटोक्रेसि तोड्न सरकारले निकै ठुलो दबाब दिइरहेको छ।अहिलेको सरकारलाई जहाँ राम्रो छ त्यहाँ प्रहार गर्नुपरेको छ। राम्रो मान्छे चाहिएन उनीहरूलाई आफ्नो मान्छे चाहियो। अस्ति मात्रै मैले केही भिसीहरूलाई भेटेर सत्यका पक्षमा लड्नुस् भनेको छु। मैले भ्रष्टाचार र विकृतिकाविरुद्ध लड्दा प्रधानमन्त्री छोड्न तयार भए। तपाईहरुपनि सत्यका पक्षमा लड्नुहोस् मेरिटोक्रेसी नछोड्नुस् योग्यहरू नियुक्ति गर्ने कुरा खुट्टा नकमाई अगाडि बढ्नुस् भनेको छु।’
आफू तीन पटक प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रको सुधारमा मिहिनेत गरेको चर्चा गरेका अध्यक्ष प्रचण्डले आफू सरकार बाहिर रहे पनि  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए ।तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा  काम गरेको बताउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले सङ्घीयता कार्यान्वयनका लागि विभिन्न विधेयक र ऐनहरु बनाउने काममा मिहिनेत गरेको बताए। 
उनले भने,’सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा  काम गर्नुका साथै धेरै मिहिनेत गरेर मैले शिक्षा विधेयकलाई क्याबिनेटबाट पारित गराए तर उक्त विधेयक संसद्मा  पुग्दा पारित गरेका विषय भन्दा अर्कै भएर पुगेछ। संसद् पुग्नु अगाडि नै विधेयक त भाचकुच भएछ त्यसमा पारित गरिएका विषय छैनन् अर्कै उल्टो कुरा छ। मैले त्यो विधेय फेरि मन्त्रिपरिषद्मा फिर्ता ल्याएर आफै बसेर फेरि विधेयकका दफा दफा हेरेर त्यसलाई एउटा राजनीतिक समझदारी बनाएर अहिले सदनमा दर्ता छ। समितिमा छलफल हुँदै छ। शिक्षाको क्षेत्रमा सुधारको निम्ति कैयौँ वर्षदेखि अड्किएको यो काम अगाडि बढेको छ।’
सङ्घीय निजामती ऐन राजनीतिक बिमतीकाबीच सदनमा दर्ता गरिएको उनको भनाई छ। अध्यक्ष प्रचण्डले भने,’सङ्घीय निजामती ऐन नहुँदा कर्मचारीको व्यवस्थापन एउटा चुनौती भएको छ। स्थानीय तह, प्रदेश, संघहरुहको कामको परिणाममा असर परेको छ। त्यसैले धेरै ठुलो बहस, सघर्ष र मिहिनेत पछि सङ्घीय निजामती ऐन सदनमा मेरो पालामा दर्ता चाहिँ भएको छ। यद्यपि त्यसमा केही राजनीतिक विमति छन्।’
भ्रष्टाचारविरुद्ध सुशासनको अभियान र अर्थतन्त्रमा सुधारको पहल गरेका कारण आफू नेतृत्वको सरकार ढालिएको बताउँदै केपी ओली नेतृत्वको सरकार अपारदर्शी र अप्राकृतिक तरिकाबाट बिचौलिया र माफियाहरुले बनाइदिएको उनले बताए।
अध्यक्ष प्रचण्डले भने,’सरकार परिवर्तन जुन तरिकाले गरियो जालझेलको तरिकाद्वारा, अपारदर्शी र अप्राकृतिक तरिकाद्वारा उहाँहरू आउनुभएको छ। म उहाँहरू आएको मान्दिन। एमाले अध्यक्ष केपी जीले भन्नुहुन्छ के मैले प्रचण्डलाई राउण्ड किक दिए। राउण्ड किक दिएको रे उहाँले। स्वर्ग नि सँगै नर्क नि सँगै जाने भनेर म प्रधानमन्त्री हुँदा मसँग प्रधानमन्त्री क्वाटरमा बसी चार घण्टासम्म कुरा गरेर जाल झेलबाट यस्तो तरिकाबाट बनेको सरकार बनेको यो बिचौलियाले यो दलालहरुले बनाइएको सरकार हो। नेपालको अर्थतन्त्र अहिले एक दर्जन बढीमा दुई दर्जन बिचौलियाको हातमा छ। जनताको हातमा छैन। नेपालको राजनीति त जनताको हातमा आयो तर देशको अर्थतन्त्र जनताको हातमा आएको छैन। यसमा केही प्रयास भएका थिए। तर बिचौलिया र दलालहरुलाई सह्यै भएन।’