नेपाल प्रिमियर लिग (एनपीएलमा) सुदूरपश्चिम रोएल्सले लगातार तेस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो। 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। 

विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए।

१९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल हुन सकेनन्। उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। बलिङमा सुदूरपश्चिमका बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३–३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए।

त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो। सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए ।

सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो।