बेलबारी ।  नोबेल मेडिकल कलेजले बेलबारीका एक बालकको उपचार निःशुल्क गरिदिने भएको छ। बेलबारी नगरपालिका ९ का १४ वर्षीय बालक विष्णु कुमार चौधरीको उपचार खर्च अस्पतालले नलिने घोषणा गरेको हो।

आर्थिक अवस्था निम्न रहेका चौधरी परिवारका छोरा विष्णुको निमोनिया भई हाल नोबेलको आइसियूमा उपचार भइरहेको छ। न्यून आर्थिक अवस्था कै कारण उपचार गर्न नसक्ने भएपछि अस्पतालले औषधिबाहेक अस्पतालमा लाग्ने सम्पूर्ण खर्च मिनाह गर्ने अस्पताल संञ्चालकसमेत रहेका मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल कुमार शर्माले घोषणा गरेका हुन्।  

विष्णुका बुबा काशीराम चौधरीले उपचार गराउन नसक्ने भएपछि वडामा सम्पर्क गरेका थिए, वडाध्यक्ष शालिग्राम बस्नेतले निःशुल्क उपचारका लागि पहल गरेपछि सांसद शर्माले अस्पतालमा लाग्ने सम्पूर्ण खर्च नलिने घोषणा गरे। सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई आथिर्क अवस्था निम्न रहेका विभिन्न क्षेत्रका आमनागरिकको निःशुल्क उपचार गर्दै आएका छन्।