सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ।
सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी रहेको बताए।
चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगेर बयान लिइए पनि सकिएको थिएन।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो।
