मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठलाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौँ महानगरपालिकाले छापा मारेको छ।

बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो। 

छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए। उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए।

साथै उनले सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नविकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौंता भएको बताए।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदो रहेछ। हामीले मागेका कागजातसहित अर्थात खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नविकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामी कहाँ आउनुहुनेछ।’