सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको हो।
फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक आयोजना कार्यालय उदयपुरका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।
उनका अनुसार यही मङ्सिर १८ गतेसम्म ठेकेदार कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको छ। अहिले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने र पुनः खोलेर राख्नेगरी ठेक्का आह्वान गरिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ।
फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो। दुई वर्ष नबित्दै बाढीले उक्त पुल बगाएपछि जिल्लावासीका लागि पुनःअस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको सुनकोसीस्थित फोक्सिङटारमा विसं २०७९ मा खोलेर राखिएका सामानलाई पुनः राख्ने तयारी गरिएको आयोजना प्रमुख ज्ञवालीले बताए। सो स्थानमा हिउँदमा राख्ने र वर्षा लाग्ने बित्तिकै झिक्ने गरी अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालन गर्ने गरिएको थियो।