उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)  कास्कीको आयोजनामा पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ। 

१७ औं हिसान कास्की स्पोर्टस मिट २०८१को एक भब्य कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गरेका छन्। सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए। 

प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्दै भने–‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो। अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ। स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन्। अनि मात्र मुलुक समृद्ध बन्दछ।’ 

खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उनले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गरे। ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन्। उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ।’ उनले भने।

खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा उनले जोड दिंदै पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको बताए। उनले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए।  

खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उनले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताए।  

आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उनको भनाई छ।  

यसै बिच प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ का साथमा सम्मान पत्रले सम्मान गरे। प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उनको खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत् नगद ५ हजार प्रदान गरेका थिए। 

हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताउँदै राज्यले खेलकुदमा लगानी बढाउने तर्फ ध्यान नदिएको जिकिर गरे। 

सो अवसरमा हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्काले स्पोर्टस मिटले महोत्सवको रुपमा अघि बढेको उल्लेख गरे। 

हिसान कास्कीद्वारा सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हिसान कास्की प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लागन आग्रह गरिन्। उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन्। 

बास्केटबल

हिसान स्पोर्टस मिट अन्तर्गत जारी प्लस टु छात्र बास्केटबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलमा डायनामिक माविले न्यू लाइटलाई २६–१२ ले, भाष्कर माविले शिशु निकेतनलाई ३२–१२ले, त्रिवेणीले लिटिल स्टेपलाई ४८–३४ ले, प्रतिभा माविले हिलपोइन्टलाई ४७–१३ ले, मनकामनाले फेवा माविलाई ७०–०३ ले र कास्की मोर्डनाइज्डले स्टेप वाई स्टेपलाई ३५–१६ ले पराजित गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिए। 

यता छात्रा बास्केटबलतर्फ भने प्लस टु ९कक्षा ११–१२०तर्फ क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् । मंगलबार सम्पन्न खेलमा फिसटेल माविले सगरमाथालाई १८–३ ले, के।एम।एले गुरूकुललाई ३१–८ ले, त्रिवेणीले जेसिएलाई ०८–०३ले, मदरल्याण्डले न्यू ग्यालेक्सीलाई २१–१४ ले, प्रतिभाले फिसटेललाई ११–०७ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ३३–११ ले र ग्लोबलले त्रिवेणीलाई १४–०५ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेका छन्।  

भलिबल 

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्लस टु छात्र–छात्रातर्फ १४ खेल सम्पन्न भएका छन्। छात्रतर्फको खेलमा माउन्ट अन्नपूर्ण, न्यू ग्यालेक्सी, सिर्जना, गुरुकुल, प्रतिभा मावि, जुनियर सिटिजन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, हिल पोइन्ट, सोसल पब्लिक र स्पाइरल ग्यालेक्सीले पहिलो चरणको खेल जितेका छन्। 

यसै गरी छात्रातर्फ सम्पन्न चार खेलमा प्रतिभाले पोखरा युनाइटेडलाई २५–८, २५–१४ ले, त्रिवेणीले मदर ल्याण्डलाई २५–१०, २५–१०, टप्सले बालोदयलाई २५–११, २५–११ ले आ–आफ्नो पहिलो चरणका खेल जितेका छन्।  

यसै गरी १७ औं हिसान स्पोर्टस मिट अन्तर्गत नै प्लस टु छात्र–छात्रा टेबुल टेनिस र ब्याडमिन्टनका प्रतिष्पर्धाहरु समेत् सुरु भएका छन्। १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। स्पोर्टस मिट अन्तर्गत प्लस टु ९कक्षा ११–१२० विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन्।

हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ। प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्ने छन्। टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन्।

विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन्। प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ।

१५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो। हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन्।

निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन्। हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन्।