राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्नुपर्ने माग राख्दै रास्वपा शुभेक्छुकले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। उनको टेलिभिजन नारीका प्रस्तोताहरू र अन्य केही शुभेच्छुकले माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा ‘रविदाईलाई न्याय दे’ ‘रविदाईलाई रिहा गर’ ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नाराहरू भएका प्लेकार्ड बोकेका छन्। उनको प्रदर्शनमा रास्वपाका अन्य नेता कार्यकर्ताको उपस्थिति छैन।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।
उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकारी बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ।
यसअगाडि उनलाई रूपन्देही पनि अनुसन्धानका लागि लगिएको थियो। बिहानको टिकट रद्ध गरेर आज बेलुका रविलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ।