मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरपालिकाले आजदेखि हटाउन थालेको छ। विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए।
धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलब तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ।
उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो। सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौं अघि थिए। आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरू डोजरसहित ती संरचना भत्काउन खटिएका छन्। धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन्।