मोरङको कानेपोखरी र विराटनगरमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७ः३० बजेतिर मृत फेला परेको जानकारी दिए।

सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृत फेला परेका पुरुष केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागीखाइ हिँड्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्।

डीएसपी जोशीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ। मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।

त्यस्तै, कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा एक जना महिला मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेकी हुन्।

उनका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा साँझ ५ः५० बजेतिर महिला मृत फेला परेपछि प्रहरी परिचालन गरेर घटनास्थल सुरक्षित राखिएको छ।

बाहिर रहेकी मृतककी छोरी आइसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने दाहालले बताए। महिलाको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी दाहालले दिए।