नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने बताएका छन्।
नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले आफ्नो लक्ष्य र उद्देश्य परिपूर्ति गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, ‘आन्दोलनमा थरिथरिका विचारहरु देखा पर्छन्। थरिथरिका व्यक्तित्वहरु सामेल भएका हुन्छन्। कोही टिकिरहन्छन् भने कोही टिक्न सक्दैनन्। कसैले एकखाले विचार बोकेका हुन्छन् त कसैले अर्को खाले। त्यसलाई हामीले छुट्याउन सक्नुपर्छ। यहीँ कम्युनिष्ट पार्टीका नेतापछि गएर दरबारको सामु आत्मसमर्पण गरे। कतिले धराशायी नै पारे, तर आन्दोलनलाई अघि बढाउने क्रममा २०२२ सालमा पनि अनेक कठिनाइहरू आए। तर अहिले पनि थुप्रै समस्याहरु देखा परिरहेका छन्। तर आन्दोलनमा एउटै बन्नुपर्छ किनभने हाम्रो शक्ति बढ्छ। शक्ति जति बढ्न सक्यो त्यति नै समाजमा राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। आफ्नो लक्ष्य र उद्देश्यलाई परिपूर्ति गर्नको लागि र साकार पार्नको लागि शक्तिका साथ लाग्न सक्नुपर्छ।’
साथै, उनले कम्युनिष्टभित्र खुला बहसको आवश्यकता भएको बताए। उनले बहस गरेर लिएका नीतिहरूलाई प्रत्येकले आत्मसमिक्षा गरेर कतिले आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका छौँ भन्ने कुरा प्रष्ट हुने बताए।