स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन्।
बुधवार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन्। 
उनले भने,‘पहिलो चोटि सिंहदरबारको वैद्यखाना आएको हो। तर यसको लागि  हामीले विकास समिति बनाइसकेका छौँ। धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन। हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्यूनतम आवश्यकता अनुसारको रहेछ। हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौँ। ’
साथै उनले सिंहदरबारको वैद्यखानामा कयौँ समस्याहरु भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए। उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्न समेत आग्रह गरे। त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनीयता नघटेको बताए।