गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन्।
गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका हुन्।
उनले भने, ‘नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ। गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईँहरू रहेको देशमा तपाईँको अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईँले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ।’
गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए।
‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईँको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’ उनको भनाइ थियो।
यस्तै गैरआवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए।