एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। कतारमा जारी प्रतियोगितामा शुक्रवार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो।
नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलाले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। खेलको २१औँ मिनेटमा याजन मोहम्मदले कतारका लागि पहिलो गोल गरेका थिए।
त्यसपछि कप्तान फैसलाले खेलको ४५औँ, ५६औँ, र ८२औँ मिनेटमा ह्याट्रिक पूरा गरे। उमर अल–मर्जुकीले पनि गोल गर्दै कतारको फराकिलो जीतमा योगदान गरे।
कतार जारी छनोटमा ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा जापान पनि समान ६ अङ्कका साथ गोल अन्तरले गर्दा अगाडि छ। अब कतारको आगामी खेल जापानविरुद्ध हुनेछ। नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ।
नेपाल पहिलो खेलमा जापानसँग ९–२ गोल अन्तरले पराजित भएको थियो। कतारले पहिलो खेलमा मङ्गोलियालाई २–० ले हराएको थियो।