ललितपुरको जावलाखेल मैदानमा जारी १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिनसम्म १६ हजार ७ सय जनाले अवलोकन गरेका छन्। दुई दिनमा ४० लाखको कारोबार भएको जनाइएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गरेका थिए। पहिलो दिनमा १५ लाखको कारोबार भएको एसोसिएसनले जनाएको छ। 
दोस्रो दिन अर्थात् आज ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनका संयोजक जेबी तामाङले जानकारी दिए।
चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण छ। 
पुष्प व्यवसाय प्रवर्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो। 
नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए। 
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइएको छ।
कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयोग गरिने फूल खेती पछिल्लो समय व्यावसायिक ढङ्गले फस्टाउँदै गएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्। 
व्यावसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने सङ्केत गरेको छ। नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ।
हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।