चाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।​

बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइ छिपाइ चाँदी ल्याउँदै गरेको अवस्थामा प्रहरीले साहलाई शुक्रबार मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।​

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।