लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरुलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बताएकी छिन्। 
कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको बैैङ्ककमा यूएन वुमनले आयोजना गरेको दोस्रो एसिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। उनलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमले स्वागत गरेका थिए। 
अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्याङ्क नक्साङ्कन भएपछि लैङ्गिमैत्री सहरी योजना तर्जुमा गर्न र थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ।  
बुधवारको प्यानलमा कुराकानी गर्दै उनले भनिन्, ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताइन्। ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रुपमा बोल्दै उनले पेसा र व्यवसायमा आबद्ध महिलाहरुको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधीकरणका फाइदाका विषयमा धारणा राखेकी थिइन्। उनले उदाहरण दिँदै भनिन्, ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरुलाई निर्धक्क सिनेमा हेर्न मिल्छ।’
केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी सशक्त बनाउने सकिन्छ? नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए। यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान भएका थिए । 
महिला सशक्तिकरणको एसिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ।