केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। 
सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि घाइते भएका नागरिकको उद्धार र राहतको प्रगति विवरण ब्रिफिङ गरेका थिए। 
बैठकमा बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल र समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
अहिलेसम्म हवाई माध्यमबाट २५८ जनाको उद्धार गरेको जानकारी दिँदै उनले तीन जिल्लामा हवाई उद्धारको कार्य जारी रहेको जानकारी दिए। 
उनले भने, बाढी, पहिरोमा परेकाहरुको खोज, उद्धार र राहत र यातायात व्यवस्थापनको अवस्थाको बारेमा छलफल गरेर त्यसको समीक्षा पनि गर्‍यौँ।अहिलेसम्म हवाई उद्धारबाट २५८ जना उद्धार भएको छ। मुलतः काभ्रे, सिन्धुपलाञ्चोक, ललितपुरमा हवाई माध्यमबाट उद्धार कार्य जारी राखिएको छ। रोशी खोलामा आएको पहिरोले अलपत्र परेका घाइते, बिरामी, अशक्तहरुलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ।’ 
मुलुकका अन्य क्षेत्रमा समेत खोज, उद्धार र सडक व्यवस्थापनको कार्य रहेको उनले बताए। काठमाडौँसँग मुख्य सम्पर्क जोड्ने सडकहरु छिटो भन्दा छिटो खुलाउने विषयमा छलफल भएको तिवारीले बताए। 
‘अन्य क्षेत्रमा समेत खोज र उद्धार कार्यलाई निरन्तरता दिइएको छ। काठमाडौंसँगको मुख्य सम्पर्क रहेको वीपी राजमार्ग धेरै नै बिग्रिएको हुनाले सकेसम्म छिटो सञ्चालन गर्नेगरि छलफल भएको छ,’ उनको भनाइ छ।