झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन्।

गौरीगञ्ज गाउँपालिका वडा नं.३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन्। 

शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ। 

नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।

यसैगरी शुक्रवार साँझ ६ बजेको समयमा कमल गाउँपालिका वडा नं.१ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलामा बेपत्ता भएका हुन्। 

खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोली खटिएर बेपता चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रवार नै कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन्। कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन्। 

भारतमा सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए। 

स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित दिनभरि खोजी कार्य गरिएको भए पनि नभेटिएको भट्टराईले जानकारी दिएका छन्।