संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ। नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चीन प्रस्थान गरेको हो। 
नेपाली सेनाले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ। सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपमा सहभागी हुन टोली चीन गएको हो।
असोज ५ गतेदेखि १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ। २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो। 
नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड–१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो।