राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा काँग्रेस र एमालेको ठुला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।  
शुक्रवार काठमाडौँमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हङ्गामा भएतापनि काँग्रेस र एमालेका नेताको संलग्नता देखिने बित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए। 
उनले छानबिन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे। 
‘सहकारी ठगीको विषयमा ठुलो हो हल्ला भयो। छानबिनका लागि समिति गठन भयो। सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन काँग्रेस र एमाले पनि ठुला नेताहरुको नाम आउन थाल्यो। त्यसपछि पहिले झैँ भ्रष्टाचारको काण्ड दबाएझैँ गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्, उनले भने,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ। अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ। त्यो कस्तो प्रतिवेदन हो रुजसले जे पनि बोल्न मिल्ने। रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हङ्गामा भयो। जब ठुला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाऊँ भाले भनेजस्तै गरी फासफुस बनाउने काम भयो।’  
उनले सरकारले र सत्तामा भएका दलहरुले ठुलो तामझामकासाथ संविधान दिवस मनाएतापनि जनताको कुनै उत्साह नरहेको बताएका छन्। 
सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन भन्ने प्रमाणित भएको बताए।