प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन्। 
बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानुकूल बनाउन लागिपरेको बताए। 
उनले भने, ‘विकासका लागि स्थायित्व चाहिन्छ। अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो। तसर्थ विकासको लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्त्व हुन। संविधानलाई समयानुकूल बनाउनु पर्छ। समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो। मेरो विचारमा संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो। राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ।’
त्यस्तै उनले युवाहरुभित्र केही गरौँ भन्ने आगो बलिरहेको बेला समाजमा आगो लगाउँछु भन्नेहरू समेत रहेको उल्लेख गर्दै देशलाई बचाउन सचेत गराए। 
देश भाँडियो वा अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने देश पुस्तौँ पुस्ता पछि पर्ने उनको भनाइ थियो।
उनले भने, ‘आज म खास गरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईँहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला। तपाईँहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गछौँ, गछौँ। सुशासन कायम त हामी गछौँ, गछौँ। तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ।’
आर्थिक विकास र उन्नतिको जुनसुकै तहमा हुँदा पनि नेपाल सदैव एउटा सभ्य र सुसंस्कृत राष्ट्र भएको ओलीले उल्लेख गरे।