नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो।
संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्ण रूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ।
परीक्षणका लागि बुधवार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।
२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। तर, पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो।
सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने पाइने छ। रंगरोगन र शृङ्गारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ।