कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाएका हुन्।

कोसी प्रदेशसभाको बुधवारको बैठकमा विश्वासको मत लिन उनले प्रस्ताव गरेका थिए। सोही बमोजिम मत विभाजन भएको थियो। मत विभाजनमा ९३ मध्ये ८३ सांसद सहभागी थिए। कार्कीको पक्षमा ६६ मत खस्यो। यसैगरी, विपक्षमा १५ मत परेको छ। मत दिन्न भन्ने संख्या शून्य थियो। सहभागी नहुने सांसद्को संख्या दुई थियो। माओवादी केन्द्र र राप्रपाले विपक्षमा मतदान गरे। 

केन्द्रीय सत्ता गठबन्धन फेरिएर एमाले–कांग्रेसको सरकार बनेसँगै कोसी प्रदेशमा पनि दुई दलको सरकार बनेको छ। कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। पहिलोपटक वैशाख ३१ मा विश्वासको मत मत लिएका थिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन्। कोसीमा गत साउन ११ गते सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। हाल कांग्रेस–एमालेको गठबन्धन सरकार छ।