संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठुला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन्। 
बुधवार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठुला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे।  
उनले भने, ‘नेकपा एमाले र काँग्रेस एक ठाउँमा आएका छन्। यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौँ अथवा काँग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे। अरु साना दलहरूलाई खुम्च्याउने, ठुला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढङ्गले मात्रै हामीले बुझ्यौँ भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिँदैन। दुई ठुला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यारोमा छ। हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई बिराम गरेर देशको परिवर्तनको लागि एक भएका हो।’ 
उनले संस्कार र संस्कृतिका विषयहरुलाई जारी संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानभित्र  प्रतिबिम्वित गरेको बताए।
संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानुन अझै पनि बनाउन नसकेको उनको गुनासो छ। संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ। 
‘संस्कार र संस्कृतिका विषयहरु हामीले जारी गरेको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा हामीले त्यहाँ भित्र प्रतिविम्वित गरेका छौँ। त्यही कारणले नै हामीले समावेशितालाई उत्कृष्ट ढङ्गले प्रवेश गराएका छौँ।’ उनले भने, अहिले हामीले संविधानमा संस्कृतिको कुरा गर्दा यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने जुन अठोट छ। हाम्रो कामकाजी कम छ, गफ मात्र धेरै गछौँ। हामीले कसरी हुन्छ, संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानुन अझै पनि बनाउन सकेका छैनौँ। हामीले संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा चल्नु पर्दछ।’