काठमाडौँदेखि पूर्वी रुकुम तर्फ गइरहेको सरकारी जिप मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको छ। 

शुक्रबार बिहान भएको दुर्घटनामा बुढाकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नं २ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको हो। घटनामा गलकोट नगरपालिका वडा नं २ को भुंखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो।

घटनामा गम्भीर घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।

गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हेमन्त भण्डारी नेतृत्वमा घटनास्थलको उद्धारमा पुगेको टोलीले परिचयपत्रको आधारमा भुपेन्द्राको पहिचान गरेको थियो। भने नागरिकताबाट गोपीमायाको पहिचान खुलेको हो। परिचय खुल्ने कागजात नभएकोले मृतक वडा अध्यक्ष सिर्पालीलाई भने चिनेजानेकाबाट पहिचान खुलेको हो। प्रहरी निरीक्षक प्रताप पौडेलले पनि परिचयपत्रकै आधारमा पहिचान खुलेको जानकारी दिए। मृतकको शव गलकोट नगर अस्पतालमा लगिएको छ।