नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ। 

शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमान गरेर बोलिएको शब्द फिर्ता गरी समाधान नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौँ। माओवादीबाट सञ्चालित दश वर्षे सशस्त्र जनयुद्ध थियो यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौँ। संविधानमा जसरी सबै कुरालाई इङ्गित गरेका छौँ। जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो।

त्यतिबेलामा पनि शसक्त प्रतिवाद गरेका थियौँ। २६ गतेको बैठकमा सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर मात्र आयो। जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ। त्यसलाई प्रतिरोध गर्नुपर्छ। यी विषयमाथि समस्या समाधान नभएसम्म संसद अवरोध निरन्तर गर्ने छौँ।’ 

त्यस्तै, माओवादी केन्द्रले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय पनि गरेको उनले जानकारी गराए।