पशुपातिनाथ मन्दिर परिषदमा एक महिनासम्म सञ्चालन भएको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा घाटा भएको आयव्यय सार्वजनिक गरिएको छ। 

मानव सेवा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै आयव्यय सार्वजनिक गर्नेक्रममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको हो। वाल योगेश्वर श्री विजय कृष्णमुर्तीजी महाराज (विजय भण्डारी) का अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान सञ्कलन भएको छ। 

तर कोटिहोम लगाउने सिलसिलामा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। उनले दिएको विवरणलाई आधार मान्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको देखिन्छ । तर कबोल गरिएकोमध्ये करिब दुई करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए।

साउन महिनाभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो।

फाउन्डेसनले मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ।

यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ।

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथा वाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचीका देवी प्रतिभा लगायतले कथा वाचन गरेका थिए।