पश्चिम नेपालमा अविरल वर्षासँगै ठूला नदीहरुमा सतह बढेको छ। महाकाली, कर्णाली र बबई नदीमा बाढी उर्लिएको छ। यी तीनवटै नदीको बाढीले खतराको तह पार गरेका छन्।

डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ। यो केन्द्रमा खतराको तह ६.५ मिटर हो।

यसैगरी, कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ४.२ मिटर पुगेको छ। यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको मानिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा छ।

यसैगरी, महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ। यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ। महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.३२ मिटर पुगेको छ।

यसैगरी, बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ७.२ मिटर पुगेको छ। यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ।