उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ।
स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ।
“यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ”, किसान बलामीको भनाइ छ। नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन्।
“गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ”, बलामीको अनुभव छ। साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ।