संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो। 

सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

त्यस्तै, उनले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताए। 

उनले भने,‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु। साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु।’

नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उनको भनाइ छ। 

त्यस्तै, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने प्रतिबद्धता जनाए। 

उनले भने,‘ आर्थिक कुटनीतिलाई केन्द्रबिन्दु बनाएर काम गर्नेछु। लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गरिने छ। 

उनले  लुम्बिनी, काठमाडौँ र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए।