नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज (तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन्। यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन्। 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन्।

उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका लागि हामीले होटलको व्यवस्था गर्छौं। आउन जान प्लेनको सुविधा दिलाउँछौ। खानबस्नका सुविधा भइहाल्छ, होटेलदेखि मक्का भन्ने मस्जिदसम्म गाडिको व्यवस्था हुन्छ। डाक्टरको आवश्यक्ता परे डाक्टर पनि उपलब्ध गर्नेछौँ। ’

साथै नेपाल हज समितिले साउदी अरव सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ। अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ।

हज समितिले सन् २०२५ (हज १४४६) का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ। यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैंयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ। 

गृह मन्त्रालयअन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि वर्षेनी आवेदन माग्ने गरेको छ।