झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर हिजो एक किशोरको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। त्यसैगरी, बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन्।
खान र राईसहित चारजना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए। नुहाउन पसेकामध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त गरे लगत्तै खटिएको प्रहरी टोलीले बेपत्तामध्ये फिरोजको शव घटनास्थलबाट एक सय मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला पारेको थियो।
राई हालसम्म फेला नपरेकाले कोसी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोलीले खोजी गरिरहेको छ। मृत खानको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।