गोलबजार ६ का ७५ वर्षिय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनै पिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए।

उनले जम्मा गरेको बचत लगभग २५ लाख छ। तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ। विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए। तर कुनै सुनुवाई भएन। ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि हविगत उस्तै छ। बचत माग्न जाँदा जाँदा खुट्टा खिइने अवस्था आयो तर धमिनी सहकारीले बचत फिर्ता दिन सकेन।

यस्ता दुख पाउनेहरु हजारौँ छन्। धमिनी सहकारीले बचत रकम फिर्ता नदिंदा कसैको छोरीको विवाह समेतर सार्नु परेको दुखेसो सुनिन्छ।   

गोलबजारमा विगत १८ वर्ष अघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको छ। बचतकर्ताहरुको बचत फिर्ता दिन सकेको छैन। दैनिक रुपमा सङ्कलन हुने ५ लाख निक्षेप संकलन पनि बन्द भएको छ। लगाएको ऋणको सावा र ब्याज असुल उपर हुन सकेको छैन। ७ हजार दुई सय बचतकर्ताहरुको करिब १८ करोड बचत रकम जोखिममा परेको छ।