सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दै गर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए। आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस्। जति कराउने हो, कराउनुस्।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए। सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जङ्गिएका थिए। 

‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै  देउवाले आक्रोश व्यक्त गरेका थिए।

नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए। देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह (बालेन) लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ। प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रशंसा) ले वर्षेनी काठमाडौँमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ।