पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन् । पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे । 

उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु । अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन ।’

पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरु जटिल बन्दै गएको दाहालको स्विकारोक्ति थियो । नेताहरुबीचको सम्बन्ध विगार्न केही पात्रहरुले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए ।