‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’ गीतबाट नेपाली सङ्गीतमा परिचित गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। शनिवार साँझ भैँसेपाटी स्थित डेरामा तिमल्सिना अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले तत्काल पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषित गरे।

तिमल्सिनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए। तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ।

तिमल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’  लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।