स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचार रत झाडापाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ । 

मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ ।

एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य योजना बनाएको समेत जनाएको छ । 

प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरु विच एकिकृत समन्वय तथा सहकार्य गर्ने तथा राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने मन्त्रालयको योजना छ ।