काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताए । 

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भने ,‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नु भएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो । ’

 त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उनको भनाई थियो ।

देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या, फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले मन्त्रालयले शहरी विकास र व्यवस्थापन सम्बन्धि नीति आवश्यक्ता अनुसार समायसापेक्ष बनाउने पनि बताए ।