उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ। 
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्‍यो भन्ने गलत आरोप लागेको भन्दै रेकडेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको स्पष्ट पारे। 
‘डेडिकेटेड र ट्रंक लाइनको कुरा गर्दा लोडसेडिङको बेलामा इण्डियाबाट पनि आयात गरेका थियौँ। केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ। आयात गर्ने सिलसिलामा कष्ट बढेको पनि होला। तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरूले पर युनिट साढे ११ रुपैयाँ भन्दा माथि परेको छैन । जबकि नर्मल रेट १३ रुपैयाँ थियो। पब्लिकले तिरेका थिए, उनले भने,‘तर पब्लिकले लोडसेडिङको मार खेपिरहेका थिए। नर्मल टेरिफ चाहिँ साढे ८ को हाराहारीमा थियो। ६०÷६५ प्रतिशत प्रिमियम चार्ज थियो, प्रिमियम चार्ज मात्रै लगाएको हो, बिल नै थिएन। नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन। इनर्जी सधैँ रेकडेट इनर्जी हो। त्यो रेकडेट इनर्जीमा मात्रै थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो, त्यसैले यसलाई उठाउनुपर्छ भन्नेमा छौँ।’
उनले सबै अवस्थालाई मध्यनजर गरेर बिलिङ गरेको भन्दै लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा नर्तिने हो भने निरन्तर टेरिफ तिरिरहेकाहरू मध्य एक जनाले एउटा उद्योगलाई १४ करोड फिर्ता दिनुपर्ने अवस्था रहेको बताए। 
उनले भने,‘अहिले हामीले सबै अवस्थालाई मध्यनजर गरेर बिलिङ गरेका छौँ । ०७४ सालदेखि हिमाल स्टिल र डाबरहरू जस्ता केही उद्योगहरूले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा पनि टेरिफ तिरिराख्नु भएको छ। यदि अहिले लोडसेडिङ अन्त्य भइसकेपछि नतिर्ने हो भने एक जनाले डावरलाई १४ करोड फिर्ता गर्नुपर्छ। १७४ वटा उद्योगले तिरिसकेको अवस्था छ।’