बेलबारी : मोरङको बेलबारी नगरपालिकाले आफू मातहतका ४५ जना कर्मचारीको आन्तरिक सरुवा गरेको छ । नगरपालिका क्षेत्रका सबै ११ ओटा वडा कार्यालयहरूमा तीन जनाका दरले तैनाथ ३३ जना प्रशासनिक कर्मचारी र नौजना प्राविधिक कर्मचारीको सरुवा भएको नगरपालिकाले जनाएको छ । यसैगरी, नगरपालिका कार्यालयभित्र कार्यरत दुईजना प्रशासनिक र एकजना प्राविधिक गरी जम्मा ४५ जना कर्मचारीको आन्तरिक सरुवा भएको नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको आन्तरिक निर्णयअनुसार कर्मचारी सरुवा गरिएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि निर्वाचित भई आएयता कर्मचारीको अनुभवमा विविधता तथा सेवामा प्रभावकारिता वृद्धि गर्ने भन्दै कर्मचारीको आन्तरिक सरुवा गर्ने परिपाटी सुरु गरिएको उनले उल्लेख गरे ।

आन्तरिक सरुवा गर्ने सवालमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच छलफल भई एक वडामा कार्यरत कर्मचारी पहिले नबसेको वडामा पुग्नेगरी सरुवाको निर्णय गर्ने गरिएको उनी सूचना अधिकारी खड्का बताउँछन् ।

आन्तरिक सरुवाका सम्बन्धमा सम्बन्धित कर्मचारीलाई आज बिहीबार पत्राचार गरिसकेको नगरपालिकाले ऐतराज नेपालीलाई ६ नम्बर वडाबाट नगरपालिकाको जिन्सी शाखामा ल्याएको छ भने अष्टनारायण धिमाललाई ९ नम्बर वडा कार्यालयबाट नगरपालिका कार्यालयमा तानेको छ । यसैगरी, चन्दना पोख्रेललाई १ नम्बर वडाबाट नगरपालिकाको भूमि तथा भवन निर्माण शाखामा ल्याइएको छ ।

यता, नगरपालिकाको जिन्सी शाखामा कार्यरत चतुर्भुज माझीलाई बेलबारी ७ नम्बर वडा कार्यालयको सचिवको जिम्मेवारी दिई पठाइएको छ । यसैगरी, प्राविधिक शुशील सुवेदीलाई ११ नम्बर वडाको प्राविधिकका रूपमा खटाइएको छ । यस्तै, नगरपालिकाको शहरी पूर्वाधार शाखामा कार्यरत राज राईलाई ५ नम्बर वडा कार्यालयको प्रशासन सहायकका रूपमा पठाइएको छ । यसैगरी, नगरपालिकाको सूचना प्रवधि सहायकका रूपमा कार्यरत पारस सुवेदीलाई ८ नम्बर वडा कार्यालयको प्रशासन सहायक बनाइएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक सरुवाबारे नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईलाई सोध्दा उनले कर्मचारीलाई लामो समयसम्म एउटै कार्यालयमा राख्दा कार्यसम्पादनमा असहजता उत्पन्न हुनसक्ने हुँदा एक वर्षको अन्तरालमा कर्मचारीको आन्तरिक सरुवा गर्ने गरिएको बताए । कर्मचारीलाई नगरपालिकाको विविधतायुक्त समाज र भूगोलसँग परिचित गराउने तथा आफ्ना अनुभव र दक्षताको प्रतिफल सबै जनतामा समानान्तर रूपमा प्रवाह गर्ने वातावरण प्रदान गर्न पनि आन्तरिक सरुवाले मद्दत गर्ने उनले उल्लेख गरे ।